ह्याण्डलिङ"
- प्रतीकन्युज असोज १७, २०७७ | शनिबार | काठमाडौं
विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ सेवा भन्नाले यात्री, व्यागेज, कार्गो चेक इन गर्ने, तिनलाई विमानसम्म पुर्याउने तथा विमानबाट ल्याउने, तिनको सुरक्षा प्रकृया गर्ने, विमान सफा गर्ने सेवा हो ।
यी सेवा सम्बन्धित एअरलाइन्स आफैले अथवा अरु सेवाप्रदायक मार्फत गर्ने गराउने विश्वव्यापी अभ्यास रहेको छ । आफनो थोरै उडान तथा यात्री संख्या भएमा एअरलाईन्सले सामान्यतया यि अन्य सेवा प्रदायकबाट लिएर सेवा दिने प्रचलननै छ । आफनो उडान तथा यात्री संख्या धेरै भएमा एअरलाइन्सले ग्राउन्ड ह्याण्डलिङ सेवा आफैले सञ्चालन गर्दछ । यो अभ्यास वायुसेवाको शुरुवाती देखिनै चलनमा आएको पाइन्छ ।
नियमक निकायले ग्राउन्ड ह्याण्डलिङ सेवा सञ्चालनका सिलसिलामा हवाईसुरक्षा तथा नागरिक उडड्यन सुरक्षालाई प्रत्याभुत गर्न नियमन गर्दछ । विश्वव्यापी रुपमा एअरलाइन्सहरुले आफ्नो सेवा सञ्चालन गर्ने मुख्य विमानस्थलमा आफैले आफनो उडान तथा यात्रीको ग्राउन्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्ने गरिन्छ । यो सर्वव्यापी अन्तराष्ट्रिय अभ्यास हो । यसको लागि नियमन निकायद्धारा हवाई सुरक्षा तथा नागरिक उडड्यन सुरक्षालाई मुख्य रुपमा ध्यानमा राखी सेवा सञ्चालन गर्न एअरलाइन्सहरुलाई अनुमति दिने गर्छ । यसरी सञ्चालन हने स्वःसेवा नै सेल्फ ग्राउन्ड ह्याण्डलिङ सेवा हो ।
अन्य एअरलाइन्सहरुलाई प्रदान गर्ने ग्राउन्ड ह्याण्डलिङ सेवालाई कर्मसियल (व्यवसायिक) ग्राउन्ड ह्याण्डलिङ सेवा भनिन्छ । विश्वव्यापी रुपमा कर्मसियल (व्यवसायिक) ग्राउन्ड ह्याण्डलिङ सेवा अनुमति प्राप्त एअरलाइन्सले अथवा कर्मसियल (व्यवसायिक) ग्राउन्ड ह्याण्डलिङ सेवा प्रदायकले सञ्चालन गर्ने गरेको अभ्यास देखिन्छ । धेरै देशमा एक भन्दा बढि सेवा प्रदायकले कर्मसियल (व्यवसायिक) ग्राउन्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्दै आएको छ । हाम्रो देशमा नेपाल वायसेवा निगमले कर्मसियल (व्यवसायिक) ग्राउन्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्ने एकाधिकार प्राप्त गरेको छ ।
एकाधिकार कर्मसियल (व्यवसायिक) ग्राउन्ड ह्याण्डलिङ सेवा अनुमति अतिरिक्त निगमले सेल्फ ग्राउन्ड ह्याण्डलिङ सेवा सञ्चालन अनुमति पनि पाएको छ । निगम वाहेक थाई एअरलाइन्स, इन्डियन एअरलाइन्स, तथा स्काइशेफले सेल्फ ग्राउन्ड ह्याण्डलिङ सेवा सञ्चालन अनुमति प्राप्त गरी सेवा सञ्चालन गर्दै आएको छ ।
केही दिन अघि हिमालय एअरलाइन्सले आफनो मुख्य हवाई सेवा सञ्चालन गर्ने आधार विमानस्थल (मेन अपरेसन वेस) मा सेल्फ ग्राउन्ड ह्याण्डलिङ सेवा सञ्चालन अनुमति पाएको छ । यो अन्तराष्ट्रिय अभ्यास पनि रहेको नजिर छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले कानुनी आधारहरु पुरा गरी हिमालयलाई अनुमति प्रदान गरेको जनाएको छ । एअरलाइन्सको आफनो आधार विमानस्थल समेत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलनै भएकाले आफनो यात्रीहरुको सेवा, हवाई सुरक्षा तथा नागरिक उडड्यन सुरक्षालाई प्रत्याभुत गर्न यसले थप सहयोग पुग्ने भएको छ ।


