Type Here to Get Search Results !

बजारमा म्याद गुज्रिएका सामान : रि-लेबलिङ गरेर बेच्‍न गिरोह सक्रिय ।

बजारमा म्याद गुज्रिएका सामान : रि-लेबलिङ गरेर बेच्‍न गिरोह सक्रिय ।

प्रतीक धिताल

हरेक    खुद्रा   पसलमा म्याद   नाघेका   सामान छन्  ।   खुद्राभन्दा होलसेलमा।   त्यस्ता सामान    बढी    छन् । –  राजकुमार    श्रेष्ठ, अध्यक्ष ,  खुद्रा  व्यापार संघ

अर्बौंको    सामान ड्यामेज    भएकाले कम्पनीहरु नै सम्पर्कमा आउँदैनन् । – दुर्गाराज श्रेष्ठ,    पूर्वअध्यक्ष, वितरक    संघ

काठमाडौँ — म्याद नाघेका उपभोग्य वस्तु बजारमा छ्यापछ्याप्ती पाइन थालेको छ । उत्पादन मिति तथा ब्याच नराखेर वा नयाँ लेबल लगाएरसमेत सामान बेचबिखन गर्ने गरिएको छ । कोभिड–१९ नियन्त्रणका लागि सरकारले लामो समय लकडाउन तथा निषेधाज्ञा गर्नाले अर्बौंका सामानको म्याद गुज्रिएको हो । उपभोग गर्ने समय सकिएका सामान उत्पादक कम्पनीलाई फिर्ता गर्नुपर्नेमा आयातकर्ता र वितरकले नै बजारमा पुर्‍याइरहेका छन् । 




 पसलमा म्याद नाघेका सामानको रिप्लेस वितरकमार्फत आउने सेल्सम्यानले गर्छन् । होलसेलबाट खरिद गरिएका सामानको हकमा होलसेलले नै रिप्लेस गर्छन् । तर म्याद सकिएको सामान वितरक र होलसेलबाटै खुद्रामा पठाउने गरिएको छ । म्याद गुज्रेका सामानमा रि–लेबलिङ गर्न गिरोह नै सक्रिय रहेको पाइएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीले आइतबार म्याद गुज्रिएका सामग्रीमा नयाँ मिति टाँसेर वितरण गर्दै आएको एक समूहलाई पक्राउ गरेको छ । यसअघि आयात र डिस्ट्रिब्युटर्सको गोदाममा छापा मार्दा ल्यापटप, सवारीसाधन र बिलबीजकसहित आठ जना पक्राउ परेका थिए ।

खाद्य वस्तुको म्याद प्रायः ६ देखि १२ महिनासम्म हुन्छ । आयात गरेर बिक्री गर्नुपर्ने वस्तु विभिन्न तह पार गर्दै रिटेलरमा ४/५ महिनासम्ममा आइपुग्ने व्यवसायीहरू बताउँछन् । ‘सामान्य अवस्थामा वर्षमा करिब दुई प्रतिशत म्याद नाघेको सामान निस्किन्छ । लकडाउन र निषेधाज्ञाका कारण बजारको चक्र बिग्रँदा आयातकर्ता, वितरक, होलसेल र खुद्राको २५ देखि ३० प्रतिशत सामान ड्यामेज भएको छ,’ नेपाल वितरक संघका पूर्वअध्यक्ष दुर्गाराज श्रेष्ठले भने । संघका अनुसार कुल खपतको ८७ प्र्रतिशत आयात हुन्छ । १३ प्रतिशत स्वदेशी उद्योगको उत्पादन हो ।

आयात गर्दा कुल उपभोग्य वस्तुको ३ गुणाभन्दा बढी सामान गोदाम, भन्सारलगायत स्थानमा हुन्छ । आयातकर्ता, वितरक, रिटेलरबाट उपभोक्तासम्म आइपुग्न ३ देखि ६ महिनासम्म लाग्छ । त्यसैले चकलेट, बिस्कुट, ट्याङ, तेल, कस्मेटिकलगायत वस्तुको म्याद बाटोमै सकिने अवस्था रहेको श्रेष्ठले जानकारी दिए । ‘चकलेटको कारोबार वार्षिक करिब ८ अर्बको हुन्छ । करिब ६ महिना बन्दले ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको सामान खेर गयो,’ उनले भने, ‘पेय पदार्थ, बिस्कुट, कस्मेटिकलगायतको अवस्था पनि उस्तै छ ।’




खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बजारमा म्याद नाघेका सामान अर्बौं रुपैयाँका रहेको स्विकारे । हरेक खुद्रा पसलमा ८ देखि १० हजार रुपैयाँ बराबरको म्याद नाघेका सामान रहेको उनले बताए । ‘खुद्राभन्दा होलसेलमा म्याद नाघेका सामान बढी छन्,’ उनले भने, ‘भर्खर ल्याइएका सामानको पनि म्याद नाघेको पाएका छौं । उनले अहिले सबै सामान हेरेर मात्रै खरिद गर्नुपर्ने भएको बताए । ‘सानादेखि ठूला सबै व्यापार–व्यवसायमा समस्या देखियो । तर सरकारले बजार अनुगमन गर्दा साना व्यापारी परेका छन्,’ उनले भने ।

खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले म्याद नाघेका सामान सम्बन्धित कम्पनीले फिर्ता लिनुपर्ने बताए । ‘महिनौंको लकडाउनले धेरै सामान नष्ट गर्नुपर्ने बाध्यता आएको छ । म्याद नाघेका सामान सम्बन्धित कम्पनीले फिर्ता लिनैपर्छ, त्यसमा सरकारले पनि साथ दिनुपर्छ,’ उनले भने । उनका अनुसार आयातित सामानको म्याद नाघे वितरकहरूले संकलन गर्छन् । कम्पनीका प्रतिनिधि आएपछि कुन सामान कति भनेर गणना हुन्छ । त्यसपछि शोधभर्ना गरिन्छ । तर अर्बौं रुपैयाँको सामान ड्यामेज भएपछि विदेशी कम्पनीहरूले आनाकानी गरिरहेको व्यापारीहरूको भनाइ छ ।

नेपालमा प्रायः भारतीय कम्पनीबाट विभिन्न सामान आयात गरिन्छ तर ती कम्पनी अहिले सम्पर्कमा आउनै नचाहेको उनीहरूको भनाइ छ । ‘इमेलको जवाफ दिँदैनन् । फोन पनि उठाउँदैनन् । फिर्ता गराउनकै लागि कम्पनीसँग झगडा गर्नुपर्ने स्थिति छ,’ नेपाल वितरक संघका पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘अवस्था भयावह भइरहेको छ ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, महानगरीय अपराध महाशाखा र जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले गत मंगलबार कलंकीमा छापा मार्दा करिब ४ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएका वस्तु बरामद गरेको थियो । संयुक्त अनुगमन टोलीले कलंकीमा रहेको एक घरको गोदाममा केही समयअघि स्टिङ अपरेसन गर्दा स्निकर चकलेट, प्रिंगल्स नामक आलु

चिप्स, ओरियो बिस्कुट, ट्याङ तथा युनिलिभर कम्पनीको हर्लिक्स, बर्नभिटा, क्याटबरीलगायतका सामानमा उत्पादन मिति तथा ब्याच नलेखिएको, मेटाउने केमिकल र प्रिन्ट गर्ने मेसिन राखी उपभोग्य वस्तुका लेबल मेटाई नयाँ लेबल लगाउने गरेको फेला परेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.