बुढीगण्डकी आयोजनाबारे बोलेको कुराको प्रमाण पेश गर्न बाबुरामलाई काँग्रेसको चूनौति
प्रतिपक्षी दल नेपाली काँग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापतिसमेतको संलग्नता रहेकोे भन्ने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको प्रमाण पेश गर्न माग गरेको छ ।
डा भट्टराईले बूढीगण्डकीसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणी गरेको जनाउँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् । “राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुट र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपिल गर्दछौँ तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौँ” प्रवक्ता शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
विसं २०७५ असोज २१ मा सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै उक्त परियोजना अघि बढाइनुपर्छ भन्ने काँग्रेसको माग रहेको प्रवक्ता शर्माले जानकारी गराएका छन् ।
देउवा नेतृत्वको सरकारले गराएको सो अध्ययन र निष्कर्षभन्दा वर्तमान सरकार बाहिर गएको आरोप पार्टीले लगाएको छ । साथै डिजेल र पेट्रोल खरीदमा उपभोक्ताबाट प्रतिलिटर रु पाँचका दरले बूढीगण्डकीका लागि उठाइँदै आएको अर्बौको रकमको स्थिति, स्थानीयवासीलाई मुआब्जा वितरण रआयोजनाको भविष्यबारे पार्टीले सरकारसँग प्रश्न गरेको छ ।
अनिल अंगाई( लेखक)





