कोरोना भाइरस नेपाल: कोभिड-१९ का बिरामी बढेकोबढ्यै, आईसीयू र भेन्टिलेटर पाउन गाह्रो

तस्बिर स्रोत, PNN
काठमाण्डूमा एक ७० वर्षीय वृद्ध कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गत साता देखि एउटा निजी अस्पतालमा भर्ना भए। श्वासप्रश्वास समस्या देखिए पछि उनलाई आईसीयूमा लगियो।
तर सोमवार थप अप्ठ्यारो भए पछि परिवारका सदस्यहरूलाई बिहान फोन आयो - बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने भयो।
तर सङ्घीय राजधानी काठमाण्डूका सबैजसो अस्पतालमा खोज्दा पनि भेन्टिलेटर उपलब्ध हुन सकेन। साँझतिर ती व्यक्तिको मृत्यु भयो।
ती वृद्ध अहिलेको अवस्था चित्रण गर्ने एक प्रतिनिधिपात्र हुन्।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेकोबढ्यै गर्दा जटिलता देखिने बिरामीको सङ्ख्या पनि बढ्न थालेको चिकित्सकहरू बताउँछन्। अस्पतालमा सीमित सङ्ख्यामा उपलब्ध सघन उपचार शय्या र भेन्टिलेटरले बिरामीको चाप थेग्न नसक्ने अवस्था देखिएको उनीहरूको भनाइ छ।
सामाजिक सञ्जाल ट्विटरमा सुभाष अधिकारीले आफ्ना साथीको परिवारले खेप्नुपरेको उक्त पीडाबारे लेख्दै सबैलाई "सतर्क" हुन आग्रह गरेका छन्।

बीबीसीसँग कुरा गर्दै उनले भने, "धेरैतिर खोजियो, तर भेन्टिलेटर पाइएन। सशस्त्र प्रहरीको अस्पतालले मङ्गलवार बिहान ९ बजे एउटा भेन्टिलेटर खाली हुने सम्भावना छ, नाम टिपाउनुहोस् भनेपछि त्यसै गरियो। तर नाम टिपाउँदाटिपाउँदै बिरामी बित्नुभएको खबर आयो।"
के छ अहिलेको अवस्था?
देशभरि र खासगरी सघन जनघनत्व भएको काठमाण्डू उपत्यकामा कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ।

